८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली, सबैभन्दा बढी प्रदेश २ मा



काठमाण्डाै – देशभर ८६ दशमलव ४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्अनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा धेरै प्रदेश २ मा ९९ दशमलव ०२ प्रतिशत घरपरिवारमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ दशमलव ७४ प्रतिशत बिजुलीको पहुँच पुगेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघु जलविद्युत् लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्अनुसार अहिले ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यामा बिजुलीको पहुँच पुगेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । चार वर्षभित्र २३ दशमलव २८ प्रतिशतले बिजुलीको पहुँचमा वृद्धि भइ ८६ दशमलव ४४ प्रतिशत पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।   

आउँदो साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाइएको भन्दै उहाँले यसका लागि बजेटको जोहो भइसकेको जानकारी दिनुभयो । एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ ।

सरकारले २०७९ सालभित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई सात सय युनिट पुर्‍याउने लक्ष्य राखेको छ ।   

ग्रिड पुर्‍याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ । 


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: