गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही


कास्की । गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ ।

लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो । यति ढिलोगरी सञ्चालनमा ल्याइएको भए पनि अस्पतालका सेवा–सुविधामा भने प्रश्न उठिरहेको छ ।

प्रदेश सरकारले बनाएको उक्त अस्पतालको आइसोलेसन वार्डमा रहेको बिरामीहरुले अस्पताल प्रशासनको चरम लापरबाही भएको बताएका छन् । आइसोलेसन वार्ड भनिए पनि आइसोलेसन वार्डमा हुनुपर्ने अत्यावश्यक सामान तथा सुविधा नरहेको बिरामीहरुको भनाइ छ ।



एक संक्रमितले भनिन्, ‘आइसोलेसन वार्डमा आएको तीन दिन भयो, डाक्टर–नर्सको मुख देखेको छैन । वार्डमा पानी तताएर खानलाई जगसमेत छैन, न अलि बढी बिरामी भएका संक्रमितहरुलाई काउन्सिलिङ नै गरिन्छ । यहाँको गतिविधि हेर्दा त सरकारले बाँचे बाँचिहाल्छ, मरे पनि केही हुन्न भन्ने हिसावले राखेको जस्तो देखिन्छ ।’


आइसोलेसन वार्डमा रहेका बिरामीहरुको आत्मबल बढाउन अस्पतालले भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो आत्मबल घटाउने गतिविधि र व्यवहार पाइएको उनको गुनासो छ । ‘बुढा बा–आमाहरु पनि संक्रमित भएर आउनु भएको छ । उहाँहरुलाई त झन् धेरै काउन्सिलिङको खाँचो छ,’ उनले भनिन्, ‘यस्तो बेलामा डाक्टर–नर्सको अनुहार नै नदेखेपछि त गाह्रो हुन्छ नि ।’


होम आइसोलेसनमा बस्छु भन्दा पनि नदिएर जबरजस्ती आइसोलेसनमा ल्याइएको ती संक्रमितले बताईन् । ‘अहिले यहाँको आइसोलेसनमा आएर पछुतो भईरहेको छ । यो अस्पतालमा भन्दा त मेरै घरमा म धेरै गर्न सक्छु नि, आइसोलेसन भनेपछि त सबै व्यवस्था हुन प¥यो नि । एउटामात्र भेन्टिलेटर छ । बाहिर भने सबै सुविधा भएकोजस्तो हल्ला छ,’ उनले भनिन् ।


संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन भण्डारी भने संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । ‘भर्खर बन्दै गरेको अस्पताल भएकोले भेन्टिलेटर भने एउटामात्र छ । संक्रमितहरुलाई चार टाइम खानाको व्यवस्था गरिएको छ । हामी चार जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको टोली चौबीसै घण्टा खटिएका छौँ,’ उनले भने ।


अस्पतालको बचाउमा भण्डारीले जे भने पनि अस्पताल व्यवस्थापनमा चरम लापरबाही भएको प्रष्ट बुझ्न सकिन्छ । ३४ जनाको आइसोलेसन बेड भएको उक्त अस्पतालमा अहिले १८ जना संक्रमितले उपचार गराईरहेका छन् ।


उनीहरुको निगरानीका लागि दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कर्मचारीमात्र छन् । आइसोलेसन वार्ड भनेर हल्ला गरिए पनि आइसोलेसन वार्ड हुनका लागि कुनै पनि मापदण्ड पुरा नगरेको संक्रमितहरुको गुनासो छ । 


संक्रमितहरु र उनीहरुका आफन्तले प्रदेश सरकारले लेखनाथको मोहरियामा बनाएको संक्रामक तथा सरुवा रोग अस्पतालमा चरम लापरबाही भएको गुनासो गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले ‘अस्पताल तयार भयो’ भनेर हल्ला गरेको पाँच महिनापछि सञ्चालन हुँदासमेत प्रदेशको कोरोना अस्पतालकाबारे सार्वजनिक भएका गुनासोले नै कोरोनासँग लड्ने गण्डकी प्रदेश सरकारको तयारी कस्तो छ प्रष्ट बुझ्न सकिन्छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: