अन्तर्राष्ट्रिय चार्टर्ड उडान हटाउन पर्यटन व्यवसायीको माग, भन्छन्ः आन्तरिक हवाई सेवा तत्काल खोल्नुपर्छ

काठमाडौं । गत चैतदेखि बन्द रहेको नेपालको पर्यटन व्यवसायले अर्बौं रुपैयाँ गुमाइसकेको छ । पर्यटन उद्योगसँगै यसमा आश्रित श्रमिक दिनप्रतिदिन निराश बन्दै गएका छन् । अब पनि व्यवसायलाई गतिशील नबनाउने हो भने घरभित्रै थुनिएर बस्‍न नसक्ने अवस्थामा आफूहरू पुगिसकेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय हवाई सेवालाई खुला गर्दै पर्यटन गतिविधि अगाडि बढाउन दिनुपर्ने माग व्यवसायीहरूको छ । 

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट ९नाट्टा० का अध्यक्ष अच्युत गुरागाईं अन्तर्राष्ट्रिय चार्टर्ड उडान बन्द गरेर नियमित उडान संख्या थप्नुपर्ने बताउँछन् । चार्टर्ड उडान हुँदा र नियमित उडान संख्या कम हुँदा कार्टेलिङ भएको उनले बताए । “हामीहरूले मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडान रोक्ने र धेरै नियमित उडान गराउन आग्रह गरेका छौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक २५ सय यात्रु धान्‍ने क्षमता छ । त्यसैले व्यवसाय सबैलाई खुला गरिदिनुपर्छ । केही कम्पनीका लागि मात्रै होइन,” उनले भने । सबैलाई व्यवसाय गर्न दिए मात्रै माग र आपूर्तिको व्यवस्थापन हुने उनको भनाइ छ । 

व्यवसायीले पर्यटकलाई ३ देखि ५ दिनसम्म मात्रै होटेल क्‍वारेन्टिनमा राख्‍ने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । “एक साता पर्यटकका लागि धरै हो । बढीमा ५ दिनसम्म मात्रै राख्नुपर्ने भनेका छौं,” उनले भने । 

उनले अब पनि आन्तरिक हवाई सेवा सञ्‍चालन नगरिए आफूहरू चुप लागेर नबस्ने बताए । “आन्तरिक हवाई सेवा पनि नखोल्ने हो भने आन्दोलनमा जानुको विकल्प छैन । अब हामी सहेर बस्‍न सक्दैनौं । आज सीसीएमसीको बैठक छ । आज आन्तरिक हवाई सेवा खोल्ने निर्णय गरिएन भने भोलि सडकमा जान हामी बाध्य हुन्छौं ।”

व्यवसायीले रोक भनेर डर देखाउने र थुन्ने काम अब नगर्न आग्रह गरेका छन् । अध्यक्ष गुरागाईंले हङकङको डिमान्ड धेरै बढेको भन्दै महिनाको दुईवटा मात्रै उडान संख्यालाई बढाएर न्यूनतम ४ पुर्‍याउनुपर्ने पनि बताए । 

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी पर्यटन क्षेत्रका लागि सुरक्षाको मापदण्ड बनाइसकेकाले सोहीअनुसार खुला गर्दै लैजानुपर्ने बताउँछन् । पर्यटन व्यवसायलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय हवाई सेवा खुला गरिनुपर्ने उनको भनाइ छ । उनले त्यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १र२ घण्टामै रिपोर्ट दिने गरी पीसीआर मेसिन राख्नुपर्ने बताए । “पीसीआर गर्दा लाग्ने शुल्क पर्यटकले नै दिन्छन् । यो विमानस्थलमा राख्नुपर्छ,” उनले भने । 

नेपालको पर्यटनलाई विस्तारै चलायमान बनाउन विदेशी पर्यटकलाई खुला गरिनुपर्ने उनको भनाइ छ । “पर्यटन उद्योगलाई चलायमान बनाउन विदेशी पर्यटकलाई खोल्नुपर्छ । विदेशी पर्यटकलाई खोल्नासाथ होटेल, ट्रेकिङ, रेस्टुरेन्ट, सार्वजनिक यातायात, हवाई सेवा सबै खुल्छन् । पर्यटकलाई खोल्ने भनेको नै सबै गतिविधि हुने हो,” उनले भने । उनले पर्यटन बोर्डमा जाने बोर्ड सदस्यहरू पर्यटन संघ(संस्थाबाट प्रतिनिधित्व हुनुपर्ने पनि बताए । “संस्थागत प्रतिनिधित्व भयो भने बोर्डमा नयाँ क्रियसन ल्याउन सकिन्छ ।” 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: