‘गर या मर’को स्थितिमा रहेको पाकिस्तानसामु क्यानडा

 


आईसीसी टी–२० विश्वकपमा मंगलबार पाकिस्तान र क्यानडाबिच खेल हुँदैछ । पाकिस्तान र क्यानडाबिचको खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति २०ः४५ बजे सुरु हुनेछ ।

पाकिस्तान र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि छन् । समूह ‘ए’ अन्तर्गत खेल्न लागिएको यो छैटौँ खेल हो । यो समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।समूहको दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’मा पराजित गरेको थियो । चौथो खेलमा भने क्यानडाले आयरल्यान्डलाई १२ रनले हराएको थियो ।

उक्त समूहको पाँचौँ खेल विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच खेलिएको थियो । निकै रोमाञ्चक त्यो खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । त्यो खेल पनि नासाउ काउन्टी स्टेडियममै खेलिएको थियो ।

समूह ‘ए’ मा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अंकसहित भारत पहिलो र समान अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छन् । दुई अङ्क बटुलेको क्यानडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्डले भने खाता खोल्न सकेका छैनन् ।

यस अर्थमा, पाकिस्तानी टोली मंगलबार राति खेलिने खेलमा जित्नै पर्ने दबाबमा रहने छ । क्यानडासँग पराजित भए पाकिस्तानी टोली जारी विश्वकपको समूहगत चरणबाटै बाहिरिने छ । अर्कोतिर, क्यानडा पनि पाकिस्तानलाई हराउँदै ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धनुमा रहने छ ।

टी–२० विश्वकपमा पाकिस्तानी टोलीको यो नवौँ सहभागिता हो । पाकिस्तानले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । क्यानडाको भने टी–२० विश्वकपमा यो नै पहिलो सहभागिता हो ।

पाकिस्तानी टोली अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ विश्वकपमा छनोट भएको हो । क्यानडाले भने छनोट चरण पार गर्दै नवौँ विश्वकपमा स्थान बनाएको हो । क्यानडा अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट भएको हो ।

पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला पाकिस्तानी टोलीले फाइनलमा श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो ।

यसदेखि बाहेक थप दुईपटक पाकिस्तानी टोली टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ । सन् २००७ मा पनि पाकिस्तान विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतले पाकिस्तानलाई पाँच रनले हराएको थियो ।

यसैगरी पाकिस्तानी टोली टी–२० विश्वकपको साबिक उपविजेता पनि हो । सन् २०२२ मा सम्पन्न विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४९ खेल खेलिसकेको छ ।

त्यसमध्ये पाकिस्तान २८ खेलमा विजयी भएको छ भने १९ खेलमा पराजित । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा हालसम्म केवल दुई खेल खेलेको छ । क्यानडाले एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान छैटौँ र क्यानडा २३औँ स्थानमा छन् । वरीयतालाई आधार मान्दा क्यानडाभन्दा पाकिस्तानी टोली निकै बलियो देखिन्छ । तर, पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रहँदै आएको छ ।

पाकिस्तान र क्यानडाबिचको क्रिकेट इतिहास भने निकै पुराना छ । आजभन्दा ४५ वर्षअघि अर्थात, सन् १९७९ मा पाकिस्तान र क्यानडाबिच क्रिकेट खेलिएको थियो । तर, त्यतिबेला यी दुई राष्ट्रबिच एकदिवसीय प्रतियोगिता खेलिएको थियो । दुवै एकदिवसीय खेलमा पाकिस्तान विजयी भएको थियो ।

टी–२० क्रिकेटमा भने हालसम्म यी दुई टोलीबिच एकपटक मात्र भिडन्त भएको छ । सन् २००८ मा खेलिएको टी–२० खेलमा पाकिस्तानले क्यानडालाई ३५ रनले हराएको थियो । त्यो खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सकेको थियो । त्यसयता मंगलबार राति टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबिच दोस्रो पटक भिडन्त हुन लागेको हो ।

वर्तमान पाकिस्तानी टोलीमा रहेका खेलाडीमध्ये मोहम्मद रिजवान केही लयमा देखिन्छन् । उनले पाकिस्तानका लागि एक सयभन्दा बढी टी–२० प्रतियोगिता खेलिसकेका छन् । टी–२० क्रिकेटमा उनले कुल तीन हजार दुई सय ४३ रन बनाएका छन् । उनले एक शतक पनि बनाएका छन् ।

जारी विश्वकपमा खेलिएको भारतविरुद्धको खेलमा पनि मोहम्मद रिजवानले ३१ रन बनाएका थिए । यद्यपि, उक्त खेलमा पाकिस्तान पराजित भएको थियो । बलिङतर्फ नसिम शाह लयमा देखिएका छन् । उनले भारतविरुद्धको खेलमा तीन विकेट लिएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: