'नयाँ नक्सा त आयाे तर सीमा समस्या समाधानका लागि सरकार गम्भीर भएन'


काठमाण्डाै – सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरे पनि वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको सांसदहरुले आरोप लगाएका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका हुन् । स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन ।


सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ कि छैन भन्ने प्रश्न गर्नुभयो । द्वन्द्वकालमा नेपाली टोलीसमेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।


सांसद रामसहाय प्रसाद यादवले सीमासम्बन्धी वास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालयलगायत सरोकारलाहरुसँग छ कि छैन भन्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले नक्सा जारी भए पनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको बताउनुभयो ।


सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जासमेतको भूमि भारततर्फ जाँदा पनि गम्भीर नभएको बताउनुभयो । नेपालभित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतङ्कित बनाउने गरेको कुरा पटक–पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेको उहाँले बताउनुभयो ।


सांसद रेखा शर्माले दीर्घकालीन रुपमा सीमा समस्या समाधान गर्ने बाटोतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वकालीन समयमा सीमा निर्धारण टोलीमा को–को थिए भन्ने पत्ता लगाएर समितिमै बोलाउनुपर्ने बताउनुभयो ।


बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताउनुभयो । स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपालतर्फ रहेको उहाँले बताउनुभयो ।


बैठकमा कोभिड–१९ का सन्दर्भमा पनि छलफल भएको थियो । प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम गर्न नसकेको बताएका थिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति गरेको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: