गोरु काटेको विषयमा विवाद र गोलीः मृतक आलमका परिवारले शव उठाएनन


झापा, भदौ ११ । झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ ।

बुधबार राति झापा गाउँपालिका वडा नम्बर(३, कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सोक्रममा प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ३८ वर्षीय आलम गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा बुधबार राति बीएन्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसँगै उहाँका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने, धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनुपर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

यसैबीच, मृतक परिवारका मागका विषयमा कामाटोलीमा छलफल सुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि, मृतक परिवार, मुस्लिम समुदायका अगुवालगायतको सहभागिता रहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाउनुभएको थियो । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनुपर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

स्थानीयले झापा गाउँपालिका–३, कामाटोलीबजारमा अमरपथ सडक अवरुद्ध गरेका छन् । सडकमा काठका मुढा र टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी पनि वार्तामा बस्नुपर्ने माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: