अन्ततः नेकपा एमाले निर्वाचन आयोगमा दर्ता, चिह्न उदाउँदो सूर्य


 काठमाडौं, भदौं ३ । 

निर्वाचन आयोगले अन्ततः नेकपा एमाले नामको दल दर्ता गरिदिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई वर्तमान सत्तारुढ दल नेकपा बनेसँगै एमाले पार्टीको अस्तित्व रहेको थिएन ।

तर नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँबुझ गरेर दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभएको छ ।

दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले एमालेलाई दर्ता गरिदिएको हो ।

आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ । केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने बताइएको छ ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता एकाएक तिवारीको नेतृत्वमा एमाले पार्टी दर्ता गर्न आयोगमा निवेदन पुगेपछि सनसनी मच्चिएको थियो ।

नेकपामा अध्यक्ष केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले दबाब दिइरहेका बेला एमाले दर्ताका लागि आयोग पुगेको थियो ।

दाहाल–नेपाल पक्षले एमाले नामको पार्टी दर्ताका लागि प्रधानमन्त्री ओलीको हात रहेको आरोप लगाइरहेका छन् । यही बीचमा आयोगले पनि दर्ता गरिदिने निर्णय गरेको छ ।

असार १६ गतेको स्थायी कमिटी बैठकमा दाहाल–नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले ओलीकै निर्देशनमा एमाले दर्ताको षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

ओलीले भने अरु नेताको आरोपको ठाडै खण्डन गर्दै आउनुभएको छ । कतिपयले नेकपामा अल्पमतमा रहनु भएका ओलीमाथि कार्वाही भए अर्को पार्टी खोल्नका लागि नै एमाले दर्ता गराएको आरोप लगाउनु गरेका छन् ।

२०७५ साल जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपनि एकता प्रक्रिया पूर्ण नहुँदै उक्त दल फुटको संघारमा पुगेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: