नयाँ अर्थमन्त्रीको खोजी तीब्र, डा. खतिवडाले बाहिरीने निश्चित

काठमाडौं, भदौं ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एवं अरु नेताहरुबीचको सत्ता संघर्षको किचलो साम्य हुने देखिएको छ ।

त्यसका लागि हाल लाभको पदमा रहेका केहीले भने बिदा लिनुपर्ने अर्थात् हात धुनुपर्ने भएको छ । नेताहरुको सत्ताकांक्षा पूरा गराउने क्रममा वर्तमान संघीय सरकारमा रहेका केही मन्त्री र प्रदेशका मुख्य मन्त्रीसमेतले बिदा पाउने छन् ।

झण्डै झण्डै फूटको अवस्थामा पुगेको नेकपालाई मिलाउने सुझाव पेश गर्न अध्यक्षद्वयले ६ सदस्यीय कार्यदल बनाएका छन् । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको उक्त कार्यदलमा रहेका मध्ये नै केही अब हुने मन्त्रिपरिषद पुनर्गठनमा मन्त्री बनेर भित्रिने बताइएको छ ।

यसका लागि सरकारमा रहेका केही मन्त्रीहरुले ठाउँ छोड्नुपर्ने छ । अर्थात् पार्टीभित्र नेताहरुको सत्ताकांक्षा साम्य पार्न प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउनु हुनेछ भने केही नयाँलाई प्रवेश गर्ने छन् ।

यस्तोमा अर्थमन्त्री डा। युवराज खतिवडा बर्हिगमनमा पर्नुहुने भएको हो । हाल सांसद नै नरही मन्त्री भएका बिना सांसद मन्त्रीमा रहने अवधि सकिन लागेको छ ।

२०७६ फागुन २१ मा मन्त्री बन्नु भएका उनी सांसद बन्न नसक्दा ६ महिनामा पद त्याग्नुपर्ने संवैधानिक बाध्यता छ । त्यस अनुसार उनको ६ महिने पदावधि २० सम्म मात्र रहेको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित भएका खतिवडाको राष्ट्रिय सभा सांसदहरुको पदावधि निर्धारणका लागि गोला चुन्दा दुई वर्ष कार्यकाल परेकाले सांसद पद गएको हो ।

यद्यपि, राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सीट अझै रिक्त रहे पनि खतिवडालाई लैजाने अवस्था नरहेको नेकपा स्रोतले जनाएको छ । एक समय उक्त पदमा नेता वामदेव गौतमलाई लैजाने तयारी पनि भएको थियो ।

गैरराजनीतिक पृष्ठभूमि (पूर्व गभर्नर र योजना आयोगको उपाध्यक्ष) रहेका खतिवडाले साँढे दुई वर्ष मन्त्रीका रुपमा अर्थ मन्त्रालय चलाए। तर उनको यस अवधिमा मुलुकको अर्थतन्त्रले गति पक्डन नसकेको स्वयं नेकपाकै नेताहरुले बताएका छन् । यस्तोमा नेकपाभित्रैबाट नयाँ अर्थमन्त्री बनाउन खोजी भइरहेको छ ।

नयाँ अर्थमन्त्री बन्ने दौडमा पूर्वअर्थमन्त्रीत्रय विष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुनदेखि संवैधानिक अवरोध नआए वामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत रहेको बताइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: