चिनीमा कृत्रिम अभावसँगै मूल्यवृद्धि

 

काठमाडौं । 

बजारमा चिनीको अभावसँगै मूल्य बढेको छ । सरोकारवालाहरूले भने कृत्रिम अभाव गराएर मूल्यवृद्धि गराइएको आरोप लगाएका छन् । स्वदेशी चिनी उद्योग र साल्ट्र टे«डिङ कर्पोरेसनले चिनीको मौज्दात सकिएको बताएपछि बजारमा एक्कासी मूल्य बढेको हो । चाडपर्व आउने बेला प्रत्येक वर्ष बजारमा चिनीको अभाव हुने गर्छ । कृत्रिम अभाव गराएर मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीको भनाई छ । एक महिना अघि प्रतिकेजी ८० रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य ९० रुपैयाँ पुगेको छ । चिनी उद्योगीले भने उद्योगसँग रहेको मौज्दात चिनी साउनकै महिना सकिएकाले बजारमा अभाव भएको बताएका छन ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्रचार्यले सरकार र व्यवसायीकै मिलेमतोमा चिनीको मूल्य बढाएको आरोप लगाए । “चाडपर्व आउने बेला बजारमा प्रत्येक वर्ष चिनीको अभाव हुने गर्छ,” उनले भने, “होलसेल व्यवसायीले चिनी अभाव देखाएर मूल्य बढाउने र कारबाहीमा साना खुद्रा व्यवसायी पर्ने गर्छन् ।” चिनी उद्योगीले कृत्रिम अभाव गराएर मूल्य बढाउने गरेको उनको भनाइ छ । चिनी उद्योगसँग भएको सवै चिनीको मौज्दात सकिएकाले बजारमा अभाव भइ महँगो हुन गएको उद्योगीको भनाइ छ । चिनी आयातमा प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादनले माग धान्न नसकेपछि मूल्य बढ्न गएको व्यवसायीको भनाई छ ।

बजारमा चिनीको मूल्य नियत्रण गर्नका लागि सरकारले कर्पोरेसनलाई २० हजार र खाद्य तथा व्यापार कम्पनीलाई १० हजार क्विन्टल चिनी आयात गर्नका लागि अनुमति दिएको छ । सहुलियत भन्सारमा चिनी आयात गर्न ढिलाइ भएमा अझै मूल्य बढ्ने व्यवसायीको भनाई छ । मुलुकमा वार्षिक २ लाख ५० हजार टन चिनीको माग रहेकोमा गत वर्ष एक लाख ८० हजार टन चिनी उत्पादन भएको थियो । वार्षिक ५० हजार मेट्रिक टन चिनी अभाव हुने गर्छ । खुला सीमाका कारणले ठूलो संख्यमा तस्करीबाट नेपालमा चिनी भित्रिने गरेको छ । नेपालमा ११ वटा सुगर मिल सञ्चालनमा रहेका छन् । सबैको क्षमता जोड्दा एक सिजनमा ४ लाख ५० हजार टन चिनी उत्पादन हुन सक्ने अनुमान छ ।

यता, बजारमा खाने तेलको समेत मूल्य बढेको छ । एक महिना अवधिमा तोरीको तेल लिटरमा १० रुपैयाँ बढेको व्यवसायीले बताएका छन् । सनफ्लवारको तेलको मूल्य लिटरमा पाँच रुपैयाँ मूल्य बढेको छ । लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाई छ । खाने तेलको कच्चा पदार्थ बाहिरीमुलुकबाट आयात हुने गर्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: