पर्यटन बोर्डको आम्दानी शून्यमा झर्न सक्ने, महामारीपछि बीबीसी र सीएनएनमा नेपालको विज्ञापन दिने योजना


  कोरोना महामारी कम भएपछि सरकारले विश्वका चर्चित मिडियामा नेपालको विज्ञापन गर्ने भएको छ ।



नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्षको बजेटमा नेपालमा पर्यटक तान्न बीबीसी, सीएनएन जस्ता विश्वकै ठूला र चर्चित मिडियामा नेपालको पर्यटकीय क्षेत्रको विज्ञापन गर्न लागि बजेट विनियोजन भएको छ । यसको लागि झण्डै डेढ करोड रुपैयाँ विनियोजन भएको पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिनुभयो ।


‘महामारी छिट्टै सकिन पनि सक्छ, लामो समय रहिरहन पनि सक्छ, यदि महामारी कम भयो र नेपाल सरकारले पर्यटक आउन दिने निर्णय गर्यो भने हामीले जतिसक्यो धेरै पर्यटक ल्याउनुपर्ने हुन्छ, त्यसको लागि विश्वका चर्चित मिडियामा नेपालको विज्ञापन दिनको लागि रकम विनियोजन भएको छ’ महतले उज्यालोसँग भन्नुभयो । 


यस्तै भारत, चीनलगायतका देशमा पनि प्रवद्र्धनात्मक कार्यक्रम पनि हुनेछन् । बजेटमार्फत पर्यटन बोर्डले आन्तरिक भ्रमणलाई पनि जोड दिने बताएको छ । नेपालमा महामारी कम भए पनि विदेशमा कम नभएको अवस्थामा देशभित्रैको घुमघामलाई प्रवद्र्धन गरेर पर्यटकीय गतिविधि चलायमान बनाउने बोर्डको योजना रहेको छ । 


‘हाम्रो देशमा महामारी कम हुनेबित्तिकै विदेशी पर्यटक ल्याउन सकिन्छ भन्ने छैन, नेपालमा आउने पर्यटकको देशमा महामारी कायमै रहेमा पनि उनीहरु आउन सक्दैनन्, त्यसैले यहाँको अवस्था हेरेर आन्तरिक पर्यटनलाई बलियो बनाउनुपर्छ भन्नेमा हाम्रो जोड छ’ महतले भन्नुभयो । 


बोर्डको बजेट ८२ करोडको, आम्दानी शून्यमा झर्न सक्ने


नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको लागि ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । यो रकम गएको आर्थिक वर्षको भन्दा ९४ करोड रुपैयाँ कमि हो । बोर्डले यो वर्ष दुई लाख ६ हजार पर्यटक नेपाल आउने प्रक्षेपण गरेको छ । दुई लाख ६ हजार पर्यटकबाट प्रति पर्यटक एक हजारका दरले २० करोड ६० लाख रुपैयाँ आम्दानी हुने बोर्डको अनुमान छ । 


तर नेपाल आउने पर्यटकको संख्या शून्यमा झरेपछि आम्दानी पनि शून्यमा झर्न सक्ने बोर्डले जनाएको छ । ‘हाम्रो मुख्य आम्दानी भनेको विदेश जानेहरुबाट एक हजार रुपैयाँका दरले लिने शुल्क नै हो, यो वर्ष महामारी कायमै रहे र झन बढेमा आम्दानी पनि शून्यमा झर्ने सम्भावना छ’ सञ्चालक समितिका सदस्य महतले भन्नुभयो । 


नेपाल पर्यटन बोर्डलाई सरकारले अनुदान नदिने भएकाले आम्दानी शून्यमा झरेमा थप समस्या हुनेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: