सरकारले उडान रद्द गर्‍यो, युएईमै प्राण त्यागे रुपन्देहीका रामसजीवनले



काठमाडौं, अस्पतालको शय्यामा तारले जेलिएर पल्टिएको एउटा शरीर। अन्तिम सास फेर्न देश फर्कने चाहनाले बढाएको छटपटाहट। आँखाभरि घरपरिवार, छोराछोरीको तस्बिर। 

‘मलाई धेरै रहर छ घर जान। छोराछोरी साना–साना छन्। बाउ–बाउ भनेर बोलाइराख्छन्,’ मुस्किलले निकालिएको आवाजसहितको एउटा भिडियो केही समयदेखि सामाजिक सञ्जालमा आइरहेको थियो। 

संयुक्त अरब इमिरेट्स (युएई) स्थित एक अस्पतालको शय्यामा मुस्किलले सास फेरिरहेका रुपन्देहीका रामसजीवन केवत स्वदेश फर्कन हारगुहार गरिरहेका थिए उक्त भिडियोमार्फत्। 

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान् ठप्प थिए। सरकारले चार्टर उडानमार्फत् विदेशमा रोजगारी गुमाएका, कोरोना बाहेकका अन्य बिरामीलगायत नेपालीलाई स्वदेश फर्काइरहेको थियो। 

‘भाइलाई धेरै अगाडिदेखि फर्काउन खोजेको। टिकट पनि कम्पनीले काटिदिने भनेको थियो। धेरै प्रयास गर्दा टिकट मिलेन। बल्लबल्ल टिकट मिलेको टिकट। आउन पाएन। हिजो युएईमै मृत्यु भयो,’ रामसजीवनका दाइ राम शाहले सुनाए। 

यसअघि १७ अगस्टमा युएईमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कनका लागि नेपाल एयरलाइन्सको उडान तय भएको थियो। 

सोही उडानमार्फत् स्वदेश फर्कन रामसजीवन ठिक्क परेका थिए। तर सरकारले अचानक उडान रद्द गर्‍यो। रामसजीवनलगायत यात्रु छाडेर जहाज रित्तै फर्कियो ।

जहाज रित्तै फर्किएपछि पनि अझै रामसजीवनको स्वदेश फर्कने चाहना मरेको थिएन। फेरि ३१ अगस्टको टिकट मिल्यो । ३१ तारिखमा घर फर्कँदैछु भनेर रामसजीवनले परिवारमा समेत खबर गरेका थिए। 

रामसजीवनका दाइ भन्छन्, ‘टिकट मिल्यो अब भाइ आउँछ भनेर खुसी लागेको थियो। तर फेरि अवस्था नाजुक हुँदै गएकोे खबर आयो। जुन दिन आउने भनेको थियो, त्यहीँ दिन भाइको मृत्यु भयो।’ 

झण्डै २ वर्ष अगाडि रोजगारीको खोजीमा युएई पुगेका रामसजीवन ४ महिनादेखि क्यान्सरले अस्पतालमा थलिएका थिए। 

‘भाइ युएई गएको ठ्याक्कै मिति त थाहा छैन। तर गएको दुई वर्ष भएको छैन। सुरुमा त प्यारालाइसिस् भएको भनेर सुनाइएको थियो’, रामसजीवनका दाइ राम शाहले नेपाल लाईभसँग भने।

३६ वर्षिय रामसजीवनका ४ छोरी र २ जना छोरा छन्। श्रीमती घरको काम गर्छिन्। परिवार उनकै भरमा थियो। यो भन्दा अगाडि  पनि उनले वैदेशिक रोजगारीमा गएर नै घर खर्च धान्दै आएका थिए। 

‘पहिले त कतार गएको थियो। कतारमा दुई पटक आउने–जाने गर्‍यो, ३ वर्षजति कतार बसेपछि युएई गएको थियो,’ उनका दाइले भने। कतारमा भन्दा युएईमा कमाई राम्रो हुने भन्दै रामसजीवन युएई हिँडेका थिए। 

कमाई ठीकै भएको बताउँथे। बेलाबेला पैसा पठाइरहेकै थिए। तर अचानक बिरामी परेदेखि उनीसँग परिवारले पैसाभन्दा पनि निको भएर फर्किए हुन्थ्यो भन्ने आशा राखेको थियो । 

उपचारपछि निको हुने छाँटकाँट नदेखिएपछि रामसजीवनले स्वदेश फर्किएर अन्तिम सास फेर्ने  इच्छा राखेका थिए। 

मर्नुभन्दा अगाडि देशको माटो टेकेर परिवार, छोराछोरीको साथ अन्तिम सास फेर्ने सपना थियो उनको। तर सरकारले कहिले चार्टर उडान खुल्ला गर्ने त कहिले बन्द गर्ने गरिरहँदा स्वदेश फर्कन पाएनन् रामसजीवन ।  घरपरिवार र छोराछोरी सम्झँदै छटपटाइरहे। अन्ततः उनले युएईमै प्राण त्याग गरे ।

‘अब शव ल्याउन पहल गर्नुपर्ने छ। दूतावासले जहाज आउँदा शव पठाइदिन्छौँ भनेको छ’ रामसजीवनका दाइले भने। अब कहिल्यै नउठ्ने गरेर रामसजीवन बाकसमा फर्कनेछन्।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: