घोडाघोडीमा आन्तरिक पर्यटन बढ्दै

कैलाली । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्द्धन  हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोना कहरबीच पनि अहिले दैनिक रूपमा सय बढी पर्यटकले घोडाघोडीको अवलोकन गरिरहेका छन् ।

विश्व रामसार सूचीमा सूचीकृत नेपालको तालमध्ये कैलालीको घोडाघोडी धार्मिक र पर्यटकीय हिसाबले सुन्दर स्थल हो । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन् । नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिचेको छ ।

करिब ४ मिटर औसत गहिराइ रहेको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर छ । ताल आसपास रहेका अन्य १३ ससाना तालहरूसमेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको हो । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुई सय ४८ हेक्टर छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ । तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल  र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्‍य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए ।

घोडाघोडी घुमघाम गर्न पर्यटकहरूलाई कुनै असुविधा हुँदैन । घोडाघोडी तालनजिक सुखड गाउँमा आधुनिक होटेलहरु सञ्चालनमा छन् । गाउँको परिवेशमा होमस्टेमा बस्‍न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । घोडाघोडी नगरपालिकाले यसको संरक्षण, संवर्द्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बताए ।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित छन् । त्यस्तै रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन् स्थल पनि  घोडाघोडी ताल बनेको छ । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ । 

घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्‍न सकिन्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: