कोरोना कहरका बीच यसरी हुँदै छ उद्योग वाणिज्य महासंघको चुनाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा कोरोना कहरकै बीच हुन गइरहेको छ । गत चैतमै भइसक्नुपर्ने साधारणसभा कोरोना संक्रमण रोकथामका लागि सरकारले गराएको लकडाउनका कारण पटक-पटक स्थगित हुँदै आएको थियो । सरकारको स्वीकृतिमा आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

अहिले पनि उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा महासंघले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तीनवटा ‘भेन्यु’ मा साधारणसभा गर्न लागेको छ । त्यसका लागि महासंघले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङकेट, बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ, टेकुलाई छुट्टयाएको छ । ५४औं वार्षिक साधारणसभाको उद्घाटन भने वेबिनारमार्फत हुने महासंघले जनाएको छ ।

यो साधारणसभा चुनावीसभासमेत भएकाले चुनावी प्रयोजनका लागि तीन वटा ‘भेन्यु’ तोकिएको हो । महासंघको निर्वाचन समितिले मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने गरी अर्थात् सामाजिक भौतिक दूरी कायम हुने, स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी मतदान गराइने जनाएको छ । सोहीअनुसार तीन फरक फरक ‘भेन्यु’ मा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फको निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर, वस्तुगत र एसोसिएटका उपाध्यक्ष एवं ६० कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने ६० जना कार्यकारिणी सदस्यमध्ये प्रत्येक प्रदेशतर्फबाट एकरएकजना गरी सदस्य सात, उद्योग वाणिज्य संघ तर्फबाट १८, वस्तुगत संघ तर्फबाट १४, एसोसिएटतर्फबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फबाट सदस्य एक, महासंघका संस्थापकहरु मध्येबाट एकजना हुनेछन् ।

ढकाल-प्रधानबीच प्यानल भिडन्त

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष छन् । महासंघको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुनेछन् । यसअघिको साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । 

त्यसअघि वर्तमान अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी थिइन् । वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारी समिति सदस्यबीच प्यानलसहित नै प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाइसकेका छन् । उनीहरुले प्यानलसहित नै मनोनयन दर्ता समेत गराइसकेका छन् । 

ढकाल प्यानल

ढकालको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् । श्रेष्ठ वर्तमान कार्यसमितिमा पनि वस्तुगततर्फको उपाध्यक्ष हुन् । 

प्रधान प्यानल

यसैगरी प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: