भोजपुर र सोलुखुम्बुमा छैन कोरोना, ६ जिल्लामा न्यून संक्रमण


विराटनगर । 

प्रदेश १ का दुई जिल्ला कोरोना मुक्त देखिएका छन् । भोजपुर र सोलुखुम्बुमा कोरोना संक्रमित छैनन् । बाँकी ६ जिल्लामा पाँच जनासम्म मात्र संक्रमित छन् । दोहोरो अंकमा संक्रमित नभएका जिल्लामा संक्रमण घट्दो क्रममा देखिएको छ ।

भोजपुरमा विदेशबाट आएका ६ जनामा र सोलुखुम्बुमा सात जनामा संक्रमण देखिएकामा सबै ठीक भई घर फर्किसकेका छन् । अहिले जिल्लामा कोही पनि संक्रमित छैनन् । दुवै जिल्ला संक्रमणका हिसाबले कोरोनामुक्त रहेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

धनकुटामा एकजना, पाँचथर र ओखलढुंगामा दुई(दुईजना संक्रमित छन् । उनीहरू सबै आइसोलेसनमा रहेको र केही दिनभित्रै ठीक भई ती जिल्लमा पनि संक्रमितको संख्या शून्य पुग्‍ने देखिएको छ । संखुवासभामा तीन र प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा पाँच संक्रमित उपचाररत छन् । खोटाङमा सात संक्रमित छन् । तेह्रथुममा एक संक्रमित रहेकामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट थप ९ जनामा संक्रमण पुष्टि भई यो संख्या १० पुगेको छ । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहताले कतिपय पहाडी जिल्लामा लकडाउन सहज भएपछि भारत र तेस्रो देशबाट आएकाहरूमा संक्रमण देखिए पनि अहिले ठीक भएर संख्या घट्दो क्रममा पुगेको जानकारी दिए । “विशेषतस् हिमाली र पहाडी जिल्लामा अहिले संक्रमण छैन । पहिले फाट्टफुट्ट बाहिरबाट आएकाहरूमा देखिएको थियो तर उनीहरूसमेत ठीक भइसकेका छन,” उनले भने । विशेष सावधानी अपनाउने हो भने कम संख्यामा संक्रमित भएका जिल्लालाई कोरोना मुक्त गर्न सकिने मेहताले सुनाए ।

बुधबारसम्मको तथ्यांकअनुसार इलाममा १६ र उदयपुरमा २२ जनामात्र संक्रमित छन् । प्रदेश १ मा पहिलोपटक उदायपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा एकैपटक १२ जनामा संक्रमण देखिएको थियो । 

सरकारले आकलन गरेअनुसार अहिले सबैभन्दा धेरै तराईका झापा, मोरङ र सुनसरीमा कोरोना संक्रमण अधिक देखिएको छ । बढ्ने क्रम पनि तीव्र भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा समुदायस्तरमै संक्रमण फैलिएको छ । हरेक दिन संक्रमित थपिने क्रम बढेसँगै विराटनगरमा लकडाउनका अवधि पनि थप गरिएको छ ।

प्रदेश १ मा बुधबारसम्म १५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३५५ पुगेको छ । उपचारपछि ११३५ जना ठीक भएका छन् । अब १२०५ जना आइसोलेसनमा छन् । प्रदेशभर ७० हजार भन्दा धेरैको पीसीआर परीक्षण भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: