पहिरो पीडितको पीडा ः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’

म्याग्दी–पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । ‘टहरोको बास र थापेको गासमा चल्दै छ सास’,, ४७ वर्षीया चनमति लामगाडेले भनिन्, ‘अब कहाँ बस्ने, के खाने थाहा छैन।’ 

‘गत असार २५ गतेको रातलाई सम्झँदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ,’ त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भनिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास।’ 

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढीपहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आएकी चनमतिले ५० हजार सहयोग रकम बुझेपछि भनिन्, ‘त्यो रात सम्झँदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छुजस्तै हुन्छ तर श्रीमानको मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर।’

चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। घरमा रहेका २६ वर्षीया बुहारी सपना लामगाडे, सात वर्षीय नाति आशिस, चार वर्षीय आयुष तथा तीन वर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाउनु भएकी चनमति अझै सम्हालिन सकिरहेकी छैनन्।

गत असार २५ गतेको मध्यरात। आकाशबाट मुसलधारे पानी पर्न थाल्यो। गोठमा बाँधेका गाईवस्तु कराउन थाले। मस्त निद्राबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो। दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजादै गर्दा पहिरो घरमाथि नै आइपुग्यो। मध्यरातको अध्यारोमा हेर्दाहेर्दै पहिरोले घर पुर्‍यो। घरभित्र रहेका चार सदस्य पुरिए। यो सबै यति छिटो भयो कि चनमतिले केही सोच्नै भ्याइनन्। 

धवलागिरि गाउँपालिका–६ मराङमा उक्त राति आएको पहिरोले चनमति परिवारका चार सदस्यसँर्ग सोही गाउँका १९ जनाले ज्यान गुमाएका थिए। पहिरोमा परि १२ जना घाइते र दुई जना अझै वेपत्ता छन्। एकै घरका चार जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमतिमात्रै होइन, गाउँकै अर्की राजमति सिर्पाली पनि छन्। 

उनको परिवारका चार जना सदस्यले पनि पहिरोमा परि ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन। विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन्। पहिरो गएको ५२ दिन वितिसक्दा पनि मराङका पहिरो पीडितका लागि पुर्नवासको उचित प्रवन्ध हुन सकेको छैन। चनमतिलगायतका कतिपय पहिरो पीडित पालमा रात कटाउन बाध्य छन्। खानका लागि विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरे पनि बस्ने वासस्थानको अभावमा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् । 

‘पहिरो पीडितका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने कि अलग–अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल देखिएको छ’, सो वडाका अध्यक्ष राजाराम सुवेदीले भने, ‘कतिपय पहिरो पीडितको घडेरीसमेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइए पनि त्यसको कार्यान्वयनमा समस्या देखिएको छ।’

उनका अनुसार कतिपयले आफ्नै घडेरीमा बस्न चाहेकाले समस्या आएको छ। घडेरी नभएकाका लागि उचित स्थानको खोजी भैरहेको छ । 

त्यसैगरी सोही पहिरोमा २४ वर्षीय छोरा मनबहादुर, २३ वर्षीया बुहारी कमला, सात वर्षीया नातिनी सुरक्षा र दुई वर्षीय नाति सुरज गरी चार सन्तान गुमाएकी ४६ वर्षीया राजमति सिर्पाली अहिले पहिरोमा घाइते भएकी माइली बुहारीको उपचारका लागि पोखरामा छिन्। राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ। 

पहिरोले घर र खेतबारी सबै पुरिएपछि अहिले उनी पोखरामा नै बस्ने गरेको वडाध्यक्ष सुवेदीले बताए। पहिरोमा परी मृत्यु भएका अन्य ११ जना परिवारको अवस्था पनि दयनीय छ। कसैले बुबा गुमाएका छन् भने कसैले छोरा÷बुहारी र नाति÷नातिनी। कैयौं परिवार विस्थापित भएका छन्। पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरो, आफन्त वा सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन्। 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: