खेलाडी भन्छन्ः ‘हामी कोरोनाको जोखिममा छौं’

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको महामारी बढ्दो क्रममा छ । समुदाय स्तरमा फैलिएको कोरोनाले गर्दा धेरैले ज्यान पनि गुमाउनुपरेको छ । संक्रमितको संख्या पनि दिनानु दिन बढिरहेको छ । कोरोनाले धेरै क्षेत्रमा असर पारेको छ । योसँगै कोरोनाको प्रभाव खेल क्षेत्रमा पनि राम्रैसँग देखिएको छ ।

लामो समय नेपाली खेलकुद क्षेत्रमा गतिविधि हुन सकेका छैनन् । खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीहरूलाई आफ्नो लय गुम्छ कि भन्‍ने चिन्ता पनि उस्तै छ । पछिल्लो समय केही दिन नेपलमा खेलकुद प्रशिक्षणहरू सुरु गरिए पनि पुनः ठप्प भए । 

कोरोना महामारीबीच हाल खेलाडीलाई आफ्नो स्वास्थ्यको पनि चिन्ता छ । लामो समयको लकडाउन अनि समुदायमा फैलिएको कोरोनाले गर्दा उनीहरू जोखिममा रहेको महसुस गर्न थालेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित खेलाडीको संख्या ४० पुगेको छ । जसमा ३९ जना एपीएफका खेलाडी छन् भने एकजना फुटबलर छन् । उनीहरूको कोरोना संक्रमण देखेर सबै खेलाडी अहिले असुरक्षित भएको महसुस गरिरहेका छन् । 

खेलाडीहरू आफ्नो स्वास्थ्यमा पनि राज्यले ध्यान दिनुपर्ने बताउँछन् । देशको गौरव बढाउन मिहिनेत गर्ने खेलाडीको चाहना राज्यले आफूहरूलाई पनि केही हेरचाह गरिदियोस् भन्‍ने रहेको बताउँछन् । तर, खेलाडीहरू आफूहरूलाई पीसीआर परीक्षण गराउने कुरालाई केही समय सार्दै तत्काल आवश्यक परेकालाई परीक्षण गर्नुपर्ने आग्रह गरिरहेका छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले समुदाय स्तरमा फैलिइसकेको कोरोनाका कारण सबै असुरक्षित रहेको र यसबाट खेलाडीहरू अछुतो हुन नसक्ने बताए ।

“कोरोना संक्रमण समुदायमा फैलिसकेपछि यसले सबै सतर्क हुन जरुरी छ । राज्यले खेलाडीलाई पनि जोखिमयुक्त दायरामा राखेर सोच्‍ने समय आएको छ । कोरोनाका कारण खेलाडी पनि असुरक्षित छौं,’’ उनले भने, ‘‘अहिले प्रशिक्षण र कुनै पनि खेल नभएका कारण हामीलाई भन्दा पहिले समुदाय स्तरमा पीसीआर परीक्षणलगायत स्वास्थ्य सेवा उपलब्ध गराउँदा सहज हुन्छ ।”

यता १३औँ सागका स्वर्णधारी बक्सिङ खेलाडी शनिल शाहीले पनि आफूहरू असुरक्षित भएकाले राज्यले दिने केही स्वास्थ्य सेवा खेलाडीलाई पनि दिन आवश्यक रहेको बताएका छन् । उनीलगायत केही बक्सिङ खेलाडी कोरोनाका महामारीबीच सरकारले दिएको निर्देशनअनुसार प्रशिक्षणमा फर्किएका थिए । एक साता धेरै प्रशिक्षण गरेका खेलाडीहरूले पीसीआर परीक्षण भने गरिएन ।

“कोरोना महामारीबीच केही दिन प्रशिक्षणमा निस्किएका थियौं । समुदायमा फैलिएको कोरोनाले हामीमा पनि एक किसिमको डर छ । खेलाडीहरूलाई प्रशिक्षण र खेलभन्दा अहिलेको आवश्यक कुरा भनेकै कोरोना परीक्षण हो । हामीमा रहेको डरलाई हटाउन भए पनि परीक्षण तथा स्वास्थ्य उपायहरू आवश्यक छ,” शनिलले भने । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: