निषेधाज्ञाले ह्‍वात्तै घटायो इन्धनको माग


काठमाडौं, भदौ ६। जिल्ला प्रशासनले निषेधाज्ञा आह्‍वान गरेपछि देशैभर इन्धनको माग ह्‍वात्तै घटेको छ । मोफसलमा आह्‍वान भएको निषेधाज्ञाका कारण इन्धनको माग घटेकामा राजधानीमा पनि सोही क्रमले निरन्तरता पाएको हो ।

नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय तथा थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार शुक्रबारका लागि १४० किलोलिटर पेट्रोल तथा १६३ किलोलिटर डिजेलको माग आएको छ । शुक्रबार आएको माग सामान्य अवस्थाको २० प्रतिशत मात्र भएको यादवले जानकारी दिए ।

डिपो बिहीबार बन्द थियो भने भोलि शनिबार पनि बन्द रहनेछ । यसको अर्थ शुक्रबारको बिक्री शनिबारसमेतका लागि हुनेछ ।

प्रादेशिक कार्यालयबाट बुधबार ३ लाख ७० हजार लिटर पेट्रोल र ३ लाख ९१ हजार लिटर डिजेल बिक्री भएको छ । सामान्य अवस्थामा यहाँबाट ८ लाख लिटर पेट्रोल र ७ लाख लिटर डिजेल बिक्री हुन्छ ।

डिपो प्रमुख यादवले माग भएअनुसारै इन्धन बिक्री गरिने बताए । डिपोबाट राजधानीसहित नजिकका जिल्लाका व्यवसायीलाई तेल बिक्री हुन्छ । बिहीबार राजधानीका अधिकांश पेट्रोल पम्प बन्द थिए ।

अमलेखगन्ज डिपोबाट हुने इन्धन बिक्रीका लागि पनि माग ह्‍वात्तै घटेको छ । डिपो प्रमुख भरत रेग्मीका अनुसार अहिलेको माग सामान्य अवस्थाको तुलनामा ६० प्रतिशतले घटेको छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्दा अमलेखगन्जबाट बिक्री हुने जिल्लामा माग घटेको छ । रेग्मी भन्छन्, “सामान्य अवस्थामा साढे २ लाख लिटर पेट्रोल बिक्री हुने गरेकामा १ लाखमा झरेको छ । डिजेलको माग २० लाख लिटरबाट हिजो ३ लाख लिटरमा आइपुगेको छ ।”

भैरहवाको माग ५ लाख लिटर डिजेल र १ लाख ८० हजार लिटर पेट्रोल रहेकामा अहिले घटेर ३ लाख १२ हजार र १ लाख २० हजार कायम भएको छ ।

अत्यावश्यक वस्तुअन्तर्गत पर्ने इन्धनको ढुवानीमा देशैभर सहज छ भने आयात पनि निरन्तर रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार बिहीबार रक्सौलबाट ८ लाख ५२ हजार लिटर डिजेल र ३ लाख ८४ हजार लिटर पेट्रोल तथा २ लाख ६० हजार लिटर हवाइ इन्धन नेपालका लागि लोड भएको छ ।

खाना पकाउने एलपी ग्यासको आायत पनि निरन्तर छ । बिहीबारै १२ बुलेट एलपीजी वीरगन्ज नाकाबाट आयात भएको छ । बुधबार ४० बुलेट आयात भएको प्रवक्ता उपाध्यायले बताए ।

देशैभरका प्रशासनले इन्धनलाई अत्यावश्यक वस्तु मानेर यसका ढुवानीमा रोक लगाएका छैनन् । आयात नियमित रहेको तथा भैरहवाबाहेक निगमका सबै डिपो यथावत् अवस्थामा सञ्चालनमा रहेका कारण अत्यावश्यक वस्तु इन्धनको समस्या नहुने उपाध्याय बताउँछन् ।

आयत र ढुवानीसँगै आपूर्ति पनि सहज छ । माग घटेर बिक्री घटे पनि निगमका सबै डिपो खुला छन् ।

भैरहवा डिपोमा कर्मचारीलाई कोभिड(१९ संक्रमण पुष्टि भएपछि सो डिपो हालका लागि बन्द छ । सो डिपोबाट आपूर्ति हुने इन्धन अहिले अमलेखगन्ज डिपोबाट हुने व्यवस्था मिलाइएको छ ।

भैरहवा डिपोका कर्मचारीको कोरोना पुनः जाँच तथा डिपोको निर्मलीकरण गरी सञ्चालनमा ल्याउने योजना निगमको छ । थानकोट डिपो दिन बिराएर खोलिएको छ भने अमलेखगन्ज डिपो नियमित सञ्चालनमा छ । अन्य स्थानमा आपूर्ति सहज छ ।

निगमको केन्द्रीय कार्यालयबाट अत्यावश्यक सेवा मात्र प्रवाह भइरहेको छ । न्यूनतम कर्मचारी अत्यावश्यक कामका लागि मात्र कार्यालय आउने गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार कार्यकारी निर्देशकको कार्यालय, नायब कार्यकारी निर्देशकहरुको कार्यालय, प्रशासन, केही अत्यावश्यक विभाग सीमित कर्मचारीबाट सञ्चालित छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: