२०३० को एसियाडको दाबी गर्दै कतारले गर्‍यो लोगो र नारा सार्वजनिक

काठमाडौं । सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने पाउनुपर्ने दाबी गर्दै कतारले खेलको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरिरहेको कतारले २०३० को २१ औं एसियाली खेलकुद राजधानी दोहामा गर्ने दाबी यसअघि नै गरिसकेको थियो । 

अहिले दोहा २०३० आयोजक सहरको दाबी कमिटीले त्यसको लोगो र नाराको अनावरण समेत गरेको छ । कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगै भर्चुअलरुपमा आधिकारिक लोगो र नारा सार्वजनिक गरेका हुन् । 

एसियाली खेलकुदको नारा ‘योर गेट वे’ राखिएको छ । लोगोले भने कतारको परम्परा, आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलहरूको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । 

कतारले पछिल्लो १५ वर्षमा विश्वका ठूला खेल प्रतियोगिताहरुको सफल आयोजना गरिसकेको छ । यसअघि दोहाले सन् २००६ मा १५ औं संस्करणको एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यसयता कतारमा एथलेटिक्स, ह्यान्डबल, जिम्न्यास्टिक्स जस्ता विश्व च्याम्पियनसिपको आयोजना भइसकेको छ । गतवर्ष आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ । 

दाबेदार आयोजकका प्रमुख कार्यकारी अधिकृत तथा कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अल ब्युनेनले भने, “हामीसँग विश्वस्तरको खेल पूर्वाधार तयार छ । हामीलाई विश्वास छ, एसियाली ओलम्पिक कमिटीका सदस्यहरुलाई  तयार भएका खेल पूर्वाधारबाट प्रभावित हुनेछन् । फेरि हामीले विश्वस्तरीय प्रतियोगिताको आयोजना गरेर सफल आयोजकको उदाहरण पेश गर्दै आएका छौं ।”

दोहाका साथै साउदी अरेबिले पनि एसियाली खेलकुद २०३० को आयोजनाको दाबी गरेको छ । अब ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको नोभेम्बर ३० मा बस्‍ने साधारण सभाले आयोजक राष्ट्र छनोट गर्नेछ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: