खेलाडीलाई निषेधाज्ञाको पिरलो

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा अहिले निषेधाज्ञा जारी छ । यसले धेरै क्षेत्रमा प्रभाव परेको छ । निषेधाज्ञाको प्रभाव खेल क्षेत्र र खेलाडीलाई पनि उत्तिकै परेको छ । 

महामारीबीच केही समय प्रशिक्षणमा फर्किएका खेलाडी पुनः घरमा बस्‍न बाध्य छन् । करिब चार महिना लकडाउनको समयमा प्रशिक्षण नगरी घरमा बसेका खेलाडीहरू पुनस् दुई साता घरमा बस्‍न बाध्य भए ।

निषेधाज्ञाअघि सरकारले खेलाडीहरूको प्रशिक्षणका लागि भदौ १ देखि अनुमति दिएको थियो । कोरोना भाइरसले बढ्दो रुप लिएपछि पुनः सरकारले कुनै पनि खाले खेल प्रशिक्षण गर्न अनुमति नभएको जनायो । यसको प्रत्यक्ष मर्कामा भने दैनिक सेल्फ प्रशिक्षणदेखि लिएर नजिकैको खेल स्थानमा प्रशिक्षण गर्ने खेलाडीलाई पर्न गयो ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागकी स्वर्ण विजेता तेक्‍वान्दोकी सन्जिला तिमल्सिना लकडाउनपछिको केही सहज समयमा घरनजिकको चौरमा प्रशिक्षणका लागि जान्थिन् । उनलाई हाल त्यो प्रशिक्षणका लागि पनि अनुमति छैन । धेरै पछि सुरु भएको प्रशिक्षण पुनः बन्द भएपछि उनलाई नरमाइलो लागेको छ ।

“लकडाउनपछि सुरु भएको प्रशिक्षणले केही खुसी ल्याएको थियो । खेलमा केही सहज हुने आशा पनि थियो । पुनः कोरोना  संक्रमणले सतायो । प्रशिक्षण पनि बन्द भयो,’’ सन्जिलाले भनिन्, ‘लकडाउनको समय भए पनि केही सहज वातावरण मिलाएर प्रशिक्षण गर्न जान हुन्थ्यो निषेधाज्ञा भएको र कोरोनाको महामारी फैलिएकाले अहिले असहज भएको छ ।”

यता त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी विकेश खवास पनि हाल सेल्फ आइसोलेसनमा छन् । निषेधाज्ञा पहिले आर्मीको हेडक्‍वार्टरमा सेल्फ प्रशिक्षणमा व्यस्त विकेश अहिले भने प्रशिक्षण गरेका छैनन् । आर्मी क्लबको हेडक्‍वार्टरमा केही व्यक्तिलाई कोरोना संक्रमण भएका कारण सिल छ । उनललाई निषेधाज्ञाले केही असर गरेको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सेल्फ प्रशिक्षण गर्ने अवस्था पनि छैन । उनी हाल सबै खेलाडीजस्तै सेल्फ आइसोलेसनमा छन् । यो अवस्था चाँडै अन्त्य भएर सहज अवस्था आओस् भन्‍ने उनको धारणा छ ।

“लकडाउनदेखि नै आर्मीको हेडक्‍वार्टरमा सेल्फ प्रशिक्षण गरिरहेको थिएँ । अहिले तयो अवस्था छैन । कोरोना भाइरसको महामारीले केही कम रुप लिँदा प्रशिक्षणमा फर्कने आशा भने थियो । अब लकडाउन पनि छैन । अब निषेधाज्ञा छ । यस्तोमा हामीले पनि केही भन्‍ने अवस्था छैन । यही अवस्था जारी रहे प्रदर्शनमा कमी आउने चिन्ता छ,” सागका स्वर्ण विजेता विकेशले भने ।

करातेमा सागमा स्वर्ण जितेकी कुसुम खड्का अहिले राजधानीबाहिर छन् । कोरोना महामारीबीच सेल्फ प्रशिक्षण गरिरहेकी उनी अहिले कुनै पनि प्रशिक्षण गरिरहेकी छैनन् । सरकारले भदौ १ देखि प्रशिक्षणको अनुमति दिने भनेपछि राजधानीमा आएर प्रशिक्षण गर्न तयार भएकी उनी अहिले निराश छिन् । राजधानीमा प्रशिक्षकसँग प्रशिक्षण नगरे पनि उनी सेल्फ प्रशिक्षण पनि गरिरहेकी छैनन् । कुसुममा आफ्नो लय गुम्‍ने भने चिन्ता छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: