१६ वर्षअघि ‘जेल ब्रेक’ गरेर भागेका दुई व्यक्ति पक्राउ

काठमाडौं । १६ वर्षअघि कारागारबाट भागी फरार रहेका फरक(फरक मुद्दाका दुइ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। डाँका चोरी मुद्दाका गौरीगंगा नगरपालिका–२ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालिका–५ बस्ने ४८ वर्षीय पुरणप्रसाद कुमाल पक्राउ परेका हुन्।  

डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गतेको फैसलाले ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना ठहर भएका चौधरीलाई सोमबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।   

गौरीगंगा नगरपालिका–२ स्थित स्थानीयको घरमा २०५८ माघ ४ गते राति हातहतियारसहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न चौधरीलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्यपश्चात् कैलाली जिल्ला अदालतमा पेश गरिएको थियो।

अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाइएका उनी २०६१ माघ २७ गते कारागारबाट भागी फरार भएका थिए। चौधरीलाई आवश्यक कारबाहीका लागि मंगलबार कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीको २०६५ जेठ २० गतेको फैसलाले सर्वस्वसहित जन्मकैद भई फरार रहेका कुमाललाई सोमबार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । 

कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमाल घरमा एक्लै सुतेको अवस्थामा २०६१ कात्तिक ७ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न पुरणप्रसादलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धानपश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएकोमा २०६१ माघ २७ गते उनी कारागारबाट फरार भएका थिए। जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतबाट समेत सदर भएको   थियो।   

कुमाललाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको उक्त जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: