प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। शनिबार साँझ बालुवाटारमा भएको छलफलमा सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएका थिए। सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताएका थिए।

साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी  र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन्।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: