पर्दाभित्रको ‘कम्युनिस्ट’ चरित्र

विद्युत लामिछाने

तपाईँको गाउँघरमा कम्युनिस्ट नेताको ‘एजेन्डा’ के हुन्छरु हाम्रोतिर त एउटा सूची हुन्छ कम्युनिस्टहरुको । गरिब, जनताको दिलमा बस्ने, किसानको भलो गर्ने, गाउँकै विकास गर्ने, सामन्तवादको विरोध गर्ने, सादा जीवन बिताउने, खुबै अध्ययन गर्ने, सारा जनताको मुक्तिको लागि काम गर्ने, जातीय छुवाछुत नमान्ने, दलितको मुक्तिको लागि अग्रसर हुने, जनता र नेता बराबरी हैसियतमा बस्ने सर्वहाराहरुको पार्टी नै कम्युनिस्ट पार्टी हो भन्ने त्यस्तो सूचीमा समेटिएको हुन्छ । कम्युनिस्टका हरेकजसो बैठक र भेलामा यिनै आदर्श सुनाइन्छ । 

माओवादी हिंसाका बेलामा त अझै चर्का नारा हुन्थे भनेर अहिले पनि गाउँमा चर्चा हुन्छ यदाकदा । सामन्तवाददेखि विस्तारवादको अन्त्य नगरी विश्राम नलिने कसम खाएका कार्यकर्ता अहिले अमिलो अनुहार लिएर गाउँतिर घुमिरहेका देखिन्छन् ।

गाउँका कम्युनिस्ट नेताहरुले भन्ने गरेका माथि उल्लेखित सबै आदर्शवाणी सत्य लाग्न सक्छ । किनभने आलोचनात्मक दृष्टिकोणसहित वस्तुलाई हेर्नुपर्ने भन्ने पाठ पठाउने कम्युनिस्टहरुले आफ्नै नेतालाई आलोचना गर्न भने सिकाएकै छैनन् । कार्यकर्ताले कम्युनिस्ट नेताहरुलाई आलोचनात्मक चेतसहित हेरेकै छैनन् । तिनलाई थाहै छैन नेपालका कम्युनिस्टहरुको जत्तिको दोहोरो चरित्र हुनै कमै हुन्छन् भन्ने । तिनलाई थाहै छैन तिनको सोझोपनको फाइदा उठाएरै तिनले गाउँगाउँमा त्यस्तो आदर्शको मुकुण्डो लगाएर जान सकेका हुन् भन्ने ।

गोर्खामा होस् वा उदयपुर, हुम्ला होस् वा बारा, इलाम होस् वा अछाम, सोलु होस् वा जनकपुर जनसाधारणमा कम्युनिस्ट दलका बारेमा धेरै भ्रम छ । तिनले सर्वहारा शब्द सुनेका छन् । त्यसैले भन्छन् — कम्युनिस्ट नेताहरु हामीजस्तै सामान्य जीवनयापन गर्छन् । तिनलाई लाग्छ — कम्युनिस्टहरुको सबै सम्बन्ध त्यागको हो । त्यसमा नाफाघाटा हुन्न । नाफाघाटाको कुरा त पुँजीवादीहरुले मात्र गर्छन् । 

हुन पनि गाउँ जाँदा अधिकांश कम्युनिस्ट नेताहरुले थोत्रा लुगाा लगाइदिन्छन् । क्रान्तिकारी गीत बजाइदिन्छन् । र, भन्छन् — हामी गरिबका नेता हौँ । हामी सामन्ती छैनौ । हामी सबैलाई समान गर्छौँ । अनि सोझा जनतालाई हो झैँ लाग्छ । पत्याइदिन्छन् । अझै अगाडि बढेर कम्युनिस्ट नेताहरु भन्छन् — हामी दलाल पुँजीपती होइनौ । हामी निजी सम्पत्ति राख्दैनौ । हामी नोकरशाही चरित्रका छैनौ । हामी फाइदाको सम्बन्ध राख्दैनौ । 

सत्य भने तिनको कथनीभन्दा धेरै पर छ । सायद सबैभन्दा धेरै नोकरशाही चरित्र कम्युनिस्टहरुमै छ । 

अब बेला भएको छ कम्युनिस्ट पार्टीको दोहोरो चरित्रका बारेमा जनताले जान्ने, बुझ्ने र बुझाउने । कम्युनिस्टहरुले गरिबलाई ‘भोट बैंक’ बनाएका छन् र गरिबीलाई आफ्नो ब्रान्ड । जति गरिब, अशिक्षित र सर्वहाराको संख्या बढ्छ त्यति नै कम्युनिस्ट पार्टीका नेताको राजनीतिक व्यवसाय फस्टाउँछ । काठमाडौंबाट हेर्दा यी कुरा कम्युनिस्ट पार्टीलाई लगाइएको आरोपमात्र हो जस्तो लाग्नसक्छ तर गाउँगाउँमा भइरहेको भने यही छ । 

दशकौंदेखि गाउँका मानिसलाई हसिँया र हथौडा नै गरिबहरुको साथी हो भनेर सिकाइएको छ । त्यो छाप मेटिन निकै समय लाग्छ । गाउँगाउँमा मानिसमा हसिँया र हथौडाप्रति भएको भ्रम र एक खालको विश्वासकै कारण त होला अधिकांश नेता घनघोर दलाल र बिचौलिया भइसक्दा पनि कम्युनिस्ट नाम, त्यो झन्डा र त्यो चुनाव चिन्ह छाड्न सकेका छैनन् कम्युनिस्ट पार्टीहरुले । 

आजको नेपालमा सबैभन्दा बढी दलाल, बिचौलिया र नाफाखोर कम्युनिस्टकै नाम भजाएर सत्तामा पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्रै छन् । गाउँगाउँका गरिब र सोझाहरुलाई के थाहा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष एउटा ठेकेदारको घरमा भाडामा त बस्छन् तर ती ठेकेदारले निर्माणको ठेक्काका नाममा राज्यको अर्बौं रुपैयाँ तिनकै आडमा हिनामिना पनि गर्छन् भन्ने । ती गाउँका साधारण जनतालाई के थाहा कम्युनिस्ट सरकार आफ्नै नातागोतालाई मात्र नियुक्ति दिन्छ र तर्कको जलपमा त्यसलाई जोगाउँछ भनेर । 

गाउँठाउँका सोझा जनतालाई के थाहा कम्युनिस्ट नेताहरुले गाउँमा जग्गा भए पनि सुकुमवासीको नाममा सहरको जग्गा पनि हडप्छन् भन्ने रु तिनलाई के थाहा सुकुमवासीकै नाममा जग्गा कुम्ल्याउनेहरु पनि गाउँ पसेर ठूलै नैतिकताको भाषण गर्छन् भन्ने । गाउँगाउँका जनतालाई के थाहा हरेकजसो शक्तिशाली कम्युनिस्ट नेताले आफ्नो खर्च धान्न राज्यको ढुकुटीबाट ठूला व्यापारी पोसेका छन् भन्ने । 

अझै पनि गाउँगाउँ र कतिपय बजार क्षेत्रकै जनतालाई के थाहा हरेक वर्षजसो दुर्घटना भएर दर्जनौंको ज्यान लिने ज्यानमारा पहाडको बाटोको ठेक्का कुनै कम्युनिस्ट नेताकै घरबेटीले पाएका छन् भनेर ? तिनलाई के थाहा तिनले नुनतेल किन्दासमेत तिरेको अप्रत्यक्ष करबाट ७० करोड गोजीमा हाल्न कोही कम्युनिस्ट नेता नै उद्यत थियो भनेर ? तिनलाई के थाहा महामारीको बेलामा समेत कम्युनिस्ट सरकारले तिनले तिरेको करबाट पैसा हिनामिना गरेको थियो भनेर । 

अझै व्यावहारिक प्रश्न सोधौँ — एकातिर दाइजो प्रथाको विरोध गर्ने तर अर्कोतिर आफ्नो सम्पत्तिको स्रोतमा पत्नीको पेवा र दाइजो लेख्ने कम्युनिस्ट नेताहरु कति जना होलान् ? एकातिर बुर्जुवा शिक्षाको विरोध गर्ने तर आफ्ना छोराछोरीलाई भव्य निजी विद्यालयमा पढाउने कति कम्युनिस्ट नेता छन् भन्ने । एकातिर गरिबी बेच्ने तर अर्कोतिर बिहान ‘ननभेज’ र बेलुका ‘भेज’ नखाई नहुने कति कम्युनिस्ट नेता होलान् ? न आज कतिजना कम्युनिस्ट नेताहरु खुट्टाले हिँड्छन् होला यात्रा गर्दा ? कतिजना कम्युनिस्ट नेताहरु सामान्य घरमा बस्छन् ? कतिजना कम्युनिस्ट नेताहरुले काठमाडौंमा घर नबनाएका होलान् ? कतिजना कम्युनिस्ट नेताले सर्वहाराको परिवारमा आफ्नो छोराछोरीको विवाह गरिदिएका होलान् ? कतिजना कम्युनिस्ट नेताले आफ्ना छोराछोरीलाई विदेश पढाउन प्रयास नगरेका होलान् ? कतिजना कम्युनिस्ट नेता बिरामी पर्दा सामान्य जनताजस्तो पालो पर्खेर सरकारी अस्पतालमा उपचार गर्लान् ? हो यी प्रश्नहरुले जवाफ खोज्न थालेको दिन बल्ल गाउँघरका जनताले कम्युनिस्ट को हुन् भन्ने चिन्ने छन् ।

जनताले माथि उल्लेखित प्रश्नहरुको जवाफ जहिले खोज्न थाल्छन् तब थाहा पाउनेछन्   निर्वाचन र अरु बेला पनि यदाकदा गाउँ पुग्ने हरेक नेताले काठमाडौंमा आलिसान महल तिनै सोझा जनता ठगेर बनाएका हुन् । तिनले बुझ्ने छन् कम्युनिस्ट दर्शन बेचेर गाउँका साना विद्यालय भत्काउन लगाउने नेताहरुले आफ्ना छोराछोरीलाई कुन कमाइले विदेश पढाए भनेर । त्यो दिन बुझ्नेछन् कसरी तिनको रगतपसिना निचोरेर सत्तामा बस्नेहरुले रजाईँ गरेका छन् भनेर । त्यसदिन बुझ्नेछन् तिनको पीडा सुन्दै नसुन्ने कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीले किन कुनै खास व्यापारीका लागि जग्गा दान दिँदै हिँड्छन् भनेर ।

यो सत्य नबुझ्दासम्म भने जनता कम्युनिस्ट नेताहरुको कोरा भाषण र आदर्शबाट पटकपटक ठगिएकै हुनेछन् । र यो ठगिने सिलसिला अझै पनि जारी रहन्छ । हसिँया हथौडा अंकित एउटा सदस्यताको चिर्कटो बोकेर गाउँ पुगेकाहरुले कण्ठ गरेको कम्युनिस्ट पार्टीको आदर्श गाउँका मानिसलाई सुनाउँछ । र त्यही भ्रममा गाउँठाउँका धेरैले कम्युनिस्टको बारेमा धारणा बनाएका छन् जुन यथार्थभन्दा धेरै पर छ ।

आज खेती लगाउने सिजनमा मलको अभाव छ । तर माक्र्सवादी विचारक कहलिएका मन्त्री मौन छन् । आज ठेकेदारहरुलाई सिन्डिकेटमा ठेक्का दिएर अर्बौंको लुटको तयारी छ तर कोही बोल्दैनन् । आज जनताको स्वास्थ्य र नेताको स्वास्थ्यका दुईथरी उपचार छ । यसको विरोध कोही गर्दैन । आज भ्रष्टचारीलाई जोगाउन स्वयं प्रधानमन्त्रीले पूरा ताकत लगाउँदा पनि सबै मौन छन् । आज अर्थमन्त्रीले एउटा खास व्यापारिक समूहलाई फाइदा दिन चकलेटमा कर छुट दिन्छन् तर साना नानीहरुले खाने दुधमा कर लगाइदिन्छन् । दलभित्रका सबै नेता चुपचाप बस्छन् । आज अदालतमा समेत बिचौलियाको जगजगी छ तर थाहा नपाए झैँ बसिदिन्छन् नेताहरू । 

गाउँगाउँका जनताले जान्नुपर्छ कम्युनिस्टको नाममा गाउँगाउँमा पुग्ने तालिम सामग्री र अन्य नारा त भन्ने कुरामात्रै हुन् । गर्ने कुरा त अरू नै छन् । नेपालका नवधनाढ्यहरुको सूची तयार पार्ने हो भने त्यसमा ९० प्रतिशत त कम्युनिस्ट नेताहरु नै पर्छन् होला । त्यो वर्ग रुपान्तरण वर्ग संघर्षको नाफा होे । 

काठमाडौंका निष्ठावान कम्युनिस्टहरुको वृत्तमा एउटा भनाइ चर्चित छ — आज सत्तामा बसेका कम्युनिस्टहरु जे गर्छन् पैसा खाएर गर्छन् र जे गर्दैनन् पैसा खान नपाएर गर्दैनन् । यो भनाइ पुष्टि गर्न धेरै पर जानै पर्दैन । कम्युनिस्ट नेता पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र पुष्पकमल दाहालले नै समय समयमा बोलेका कुरामा यसको प्रष्ट छनक पाइन्छ । 

 अब कुरा गरौं कम्युनिस्टहरुको असली चरित्र बुझाउन तमाम दोहोरो चरित्रवाला यथार्थ र प्रश्नहरु लिएर गाउँमा जाने कोरु कस्ले यो भ्रम तोड्ने रु  त्यो दायित्व त प्रजातान्त्रिक शक्तिहरुको थियो र हो । अझ भनौं अहिलेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलको हो । तर, प्रतिपक्षी दलको मूल नेतृत्व आफैंँ भुत्ते भएको छ । गाउँघरका जनताको चासो र चिन्ताले कम्युनिस्ट नेताहरुलाई जति छुँदैन त्यति नै कांग्रेसका शेरबहादुर देउवालाई पनि छुँदैन । कहिलेकाँही त यस्तो लाग्छ गाउँघरका जनताको दुखसँग उनी बेखबर छन् ।  उनले पनि दलमा तिनै बिचौलिया, ठेकेदार र भक्त समूह न भित्र्याएका छन् । नैतिकरुपमा कम्युनिस्टहरुको दोहोरो चरित्र, बिचौलिया पथ र दलालीलाई उदांगो पार्नसक्ने हैसियत शेरबहादुर देउवा र कांग्रेसका अधिकांश नेतामा देखिँदैन ।

बाह्खरीबाट


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: