नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, सीमा विवादकाबीचको बैठक सौहार्दपूर्ण


काठमाडौं, भदौं १ । 

नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको हो ।

दुई देशबीच राजनीतिकस्तरमा संवाद नखुलेपनि कर्मचारीस्तरमा भने नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक सम्पन्न भएको हो ।

यद्यपि, भारतको स्वतन्त्रता दिवसका दिन शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भने भएको थियो ।

सोमबारको बैठकमा भारतीय पक्षले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार ३०१ घर निर्माण गरिएको जानकारी गराएको छ ।

सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनुहुन्थ्यो ।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो ।

बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो ।

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । संयन्त्रको मात्र बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ ।

सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा जनाइएको छ ।

परियोजनाका विभिन्न पक्षबारे विस्तृत छलफल गर्दै दुबै पक्षले कार्यान्वयनको गति तीव्र बनाउने सहमति गरेका छन् ।

कालापानी–लिम्पियाधुरा–लिपुलेकको जमीनका बारेमा दुई देशबीच विवाद भइरहेका समयमा नेपाल र भारतबीच आधिकारिकस्तरमा पहिलो पटक यो बैठक बसेको हो ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: