नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ, दसैंको टिकट कहिले खुल्छ ?

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत् लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोगका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत्  ‘टिकट बुकिङ’ खुला गरेको हो ।

कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत् ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना संक्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन् । 

“बसको टिकट लिन लाइन बस्दा कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी कम्युटर प्रणालीमार्फत्  ‘टिकट बुकिङ’ खुला गरेका हौँ, आगामी दिनमा अनलाइन र एप्समार्फत्  टिकट काट्ने व्यवस्था गर्नैछौँ,” उनी भन्छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा  कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।

कम्पनीका मानव संशाधन प्रमुख पंकज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउँछन् । “विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महंगो बसभाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाएका हौँ,” उनी भन्छन् । 

कम्पनीले कम्युटर प्रणाली र अनलाइनमार्फत् टिकट बुकिङको व्यवस्था सुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान सुरु गरेका छन् । आजैदेखि काठमाडौँबाट प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश २ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत्  अनलाइन टिकट बुकिङ सुरु गरेका हुन् ।

५४ कम्पनी मिलेर बनेको काठमाडौँ–पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तवरले पूर्व लैजानका लागि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठ कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरी अन्तर्राष्ट्रिय स्तरको बससेवा प्रदान गर्नका लागि आफूहरुले अनलाइनमार्फत्  टिकट बुकिङ खुला गरेको बताउँछन् । अनलाइनमार्फत् टिकट बुकिङ शुरु गरेपछि यात्रु नठगिने उनको भनाइ छ ।

कम्पनीमार्फत् काठमाडौँबाट पूर्व क्षेत्रमा २७५ सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । कम्पनीमा डिलक्स, एसी र सामान्य बसहरु सञ्चालित छन् । कम्पनीका सचिव रुद्रबहादुर कार्की सरकारले तोकेको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर बस सञ्चालनको तयारी गरेको बताए । “कोभिड–१९ का कारण ६ महिनादेखि अस्तव्यस्त रुपमा रहेको यातायातलाई पूर्ववत अवस्थामा फर्काउनका लागि अनलाइन माध्यामबाट टिकट बुकिङ गरी सरकारले तोकेअनुसारको भाडादरमा यात्रु बोक्छौँ”, उनले भने । सरकारले एक सिटमा एक यात्रुमात्र राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिनपाउने व्यवस्था मिलाएपनि सो निर्णय व्यवहारिक नभएको उनको भनाइ छ ।

यसैगरी, चालकको लापरवाही तथा बाटोको दूरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएको ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर दाबी गर्छन् । ( रासस


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: