सडकको पहिरोले पुरिएर स्याङजामा १० को मृत्यु, एक घाईतेको उपचार हुदै

स्याङ्जा, ८ असोज । जथाभावी सडक खन्ने प्रचलन बढेसँगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिममा छन् । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारको सबै भन्दा बढी बजेट विकासको नाममा विना इन्जिनियरीङ नापजाँच सडक खन्ने प्रचलनले स्याङ्जाका बस्तीहरु जोखिम मोल्न बाध्य भएका हुन् । 

जथाभावि सडक खनेकै कारण स्याङ्जामा एकै दिन १० जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । स्याङजामा बिहीबार बिहान गएको पहिरोमा परी एकैघरका ९ जना सहित १० को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

वालिङ नगरपालिका वडा नं. १४ तमादिका एकौघरका ९ जना र कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । पहिरोमा परी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ । 

पहिरोमा परी ज्यान गुमाउनेमा  १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक नाबालक छन । यसैगरी, २८ वर्षकी उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली र कालीगण्डकी गाउँपालिका ४ का बावुराम दमाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

तीन दिनदेखि अविरल रुपमा परेको बर्षादले घर भन्दा माथीबाट आएको पहिरोले घर पुरिएको थियो । सडकलाई फराकिलो बनाउने अभियानले डोजर प्रयोग हुदा पुरै डाँडो नै चर्किएको अवस्था छ । कुनै बेला अझै ठुलो पहिरो जान सक्ने स्थानीय खुमप्रसाद लुईटेलले बताए । 

०७२ सालको भुकम्पले हल्लाएको डाँडो र सडक फराकिलो बनाउदा प्रयोग भएको डोजरका कारण पहिरो गएको लुईटेलले बताए । बिहान पख पहिरो गएकाले शब निकाल्न सहज भएको उनको भनाई छ । उनका अनुसार माईलो छोरा भारतमा रहेका र कान्छी छोरीलाई जिवितै उद्धार गरिए पनि अरु सबैको ज्यान गयो ।  

पटक पटक स्थानीयले पहिरोको जोखिम भएकाले नबस्न आग्रह गरेको र अन्य दिनमा बाहिर सुत्ने गरेपनि बुधबार राती घरमै सुतेकाले दुर्घट्ना हुन पुगेको स्थानीयले बताए । पानी परेपछि पहिरोको जोखिमका कारण बाहिर बस्दै आएका नेपालीका परिवार गएराती भने सोही घरमा सुतेका थिए । बिहान एक्कासी पहिरो खसेपछि उनीहरुको ज्यान गएको हो । पहिरोमापरि ४ महिला, ४ पुरुष र एक ७ महिने नाबालकको ज्यान गएको हो । तमादिमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन । 

स्याङ्जामा सडकको पहिरोको कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ । अविरल वर्षाकै कारण जिल्लाका दुई दर्जन सडकहरु पहिरोले अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: